सल्यान– सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतक डाँगीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ भने घाइते चौधरीको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
गाडी सडकदेखि करीब १०० मिटर तल खसेको छ । गाडी के कारणले पल्टियो त्यसबारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
रासस
वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत !
रत्ननगर, चितवन – पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।
चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिनुभयो ।
जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिनुभयो । “चितवनका किसानलाई ठूलो राहत भएको छ, श्रेष्ठले भन्नुभयो, उनीहरु खुशी भएका छन् ।”
पूर्वी चितवन क्षेत्रमा झण्डै २५ प्रतिशत रोपाइँ भएको छ । भरतपुर क्षेत्रमा करीब पाँच प्रतिशतको हाराहारीमा रोपाइँ भएको अनुमान कृषि कार्यालयको छ । इच्छाकामना गाउँपालिकामा रोपाइँ हुन सकेको थिएन भने कालिका नगरपालिकामा ५÷६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
दक्षिणी भेग माडीमा अहिलेसम्म १२ प्रतिशत रोपाइँ भएको अनुमान छ । अघिल्लो वर्ष यो समयमा जिल्लामा करीब २५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष पानी नपर्नाले रोपाइँ हुन सकेको थिएन ।
पानी परेपछि भने सुख्खा क्षेत्रमा समेत रोपाइँ हुनेछ । रत्ननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आलीसमेत सुकेर बसेका बेला पानीले राहत दिएको बताउनुहुन्छ ।
जिल्लामा यो वर्ष कूल २८ हजार ६०० हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
public awaj baat

|
![]() |
0 comments:
Post a Comment