विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरवमा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग मरुभूमि रहेको साउदी अरवको मुहार पेट्रोलियम पदार्थको भण्डारले नै फेरेको हो । तीनतिरबाट समुद्रले घेरिएको साउदी अरवमा खेतीयोग्य जमिन अत्यन्तै न्यून छ । यसको राजधानी रियाद हो । रियाद बाहेक जेद्दा, मक्का, मदिना, दमाम मुख्य शहर हुन् ।साउदी अरवको मुद्रालाई साउदी रियाल भनिन्छ ।
१ साउदी रियाल बरावर नेरु २८ को हाराहारीमा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको घटबढसँगै तलमाथि हुन्छ ।
७० लाख भन्दा धेरै विदेशी कामदार कार्यरत साउदी अरवका नेपालीहरु जुवैल, रियाद, जेद्दा, दमाम, अल खोवर लगायतका शहरमा बिभिन्न काम गर्छन् । नेपाली कामदारहरु यहाँ गाडी चालक, होटलमा सरसफाई मजदुर, कृषि श्रमिक, निर्माण श्रमिकका रुपमा र थोरै ठूला ओहोदामा कार्यरत छन् ।
साउदी अरवमा अरवी भाषा बोलिन्छ । तर तिव्र औद्योगिकरणका कारण व्यवसायिक क्षेत्रमा अंग्रेजी भाषा पनि चलन चल्तीमा छ । हिन्दी पनि सामान्य प्रयोगमा हुन्छ ।राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदी अरवको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरवमा कडा दण्ड दिईन्छ । त्यसैले कामदारका रुपमा साउदी अरव जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ ।
साउदी अरव अति गर्मी हुने मुलुक हो । नेपालीहरुका लागि साउदी अरवको उच्च तापक्रम सवैभन्दा ठूलो समस्या हो । धेरै गर्मी र खुल्ला ठाउँमा काम गर्नुपर्ने भएकाले साउदी अरवको थोरै कमाई नेपाली कामदारका समस्या हुन् । तातो ठाउँमा काम गरेर कोठामा फर्केपछि चिसो एयर कण्डिसनर चलाएर सुत्दा धेरै नेपालीको ज्यान गुमेको छ ।
धेरैजसोको ज्यान श्वासप्रश्वास सम्वन्धी समस्याकै कारण जाने भएकोले साउदी अरव जान चाहनेहरुले कोठामा सुत्दा अपनाउनु पर्ने सावधानीका बारेमा थाहा पाउनु पर्छ ।कमाई धेरै नभए पनि साउदी अरव नेपाली कामदारको तेश्रो ठूलो गन्तव्य हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०६९ बैशाख मसान्तसम्ममा ४ लाख ७६ हजार ३ सय ८ जना नेपाली श्रम स्वीकृति लिएर साउदी अरव गएका छन् ।साउदी अरवमा झण्डै ८० हजार नेपाली महिला कार्यरत छन् । तर गैर कानुनी रुपमा भारतको बाटो हुँदै गएका हुनाले साउदीमा काम गर्ने महिलाको आधिकारिक तथ्यांक छैन ।

|
|
![]() |


0 comments:
Post a Comment